काठमाडौं- नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ। यससँगै महामन्त्री गगन कुमार थापाको संवाद यात्रा पनि स्थगित भएको छ।
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित गरिएको हो।
यसको औपचारिक निर्णय आज बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो। त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरू खटेका थिए।
पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण अभियान र संवाद यात्रा दुवै स्थगित भएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए।
बैठकले बुढाथोकीको निधनमा शोक प्रकट गर्दै एक दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने परम्पराअनुसार निर्णय गर्ने थापाले बताए ।
पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको हो।




















प्रतिक्रिया