काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा बैंक डुबाउन अर्को बैंक नै सक्रिय भइरहेको आरोप लगाएका छन्। सोमबार राजधानीमा बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा सहभागी गभर्नर अधिकारीले सोही कारण पछिल्लो समय बैंक बिग्रेको र फेल भएको हल्ला फैलाउने काम भइरहेको बताए।
गभर्नर अधिकारीले एउटै संस्था (बैंक)ले अर्को सोही प्रकृतिको संस्थालाई फेलियर बनाउँदा एउटालाई खाने बाघले अर्कोलाई पनि खान्छ भन्ने बुझ्नुपर्ने औंल्याए। उनले ऋणीको क्षमताभन्दा बढी कर्जा दिएसँगै चालू पुँजी कर्जाले बाँधिँदा कर्जाको साँवाब्याज भुक्तानीमा समस्या देखिएको बताए।
केही समयअघिको ओभर फाइनान्सिनले अहिले बैंक र ऋणी दुवैलाई समस्या भएको उनको भनाइ छ। उनले बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिनेसमेत बताए।
सहकारीमा समस्या आउँदा सहकारीका साना बचतकर्ताले बैंकको कर्जाको समयमै साँवाब्याज तिर्न नसकेकाो र समस्या देखिएका तथा समस्या भएका सहकारीलाई सरकारले नै व्यवस्थापन गर्नुपर्ने उनले बताए।
निर्माण क्षेत्रमा सरकारले दिनुपर्ने भुक्तानी रोकिँदा यो क्षेत्रका गतिविधि प्रभावित भएको र बैंकको रि–पेमेन्टमा समस्या आएको उनले जनाए। बैंक तथा वित्तीय संस्थालाई स्वस्थ बनाइराख्न यसबीचमा नियमनकारी निकाय (राष्ट्र बैंक)ले ल्याएका विभिन्न प्रावधानमा धेरै विरोध र टिप्पणी गरिएकामा गभर्नर अधिकारीले असन्तुष्टि जनाए।
बैंक फेल नहुने होइन तर फेल हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा के असर पर्छ भनेर मसिनो गरी हेर्नुपर्नेमा उनले जोड दिए।




















प्रतिक्रिया