Logo

अर्थ

धितोले खामेन भन्दै बैंकिङ कसुर लगाउने हो भने सबै बैंकर जेलमा हुन्छन् : मनोज ज्ञवाली



काठमाडौं । नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले धितोले खामेन भनेर बैंकिङ कसुर लगाउँदै पक्राउ गर्दै जाने हो भने बैंकको कर्जा प्रवाहमा काम गर्ने कुनै पनि बैंकर बाँकी नरहने, सबै जेल जानुपर्ने अवस्था आउने बताएका छन् ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गर्यो ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनुचित लाभ हेन गरी अनियमित रुपमा कर्जा प्रवाह गरेको भन्दै सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ न्यौपाने, पूर्वसीईओ गौतमसहित १० जनालाई पक्राउ गरेको हो ।

यो विषयलाई आपत्ति जनाउँदै नबिल बैंकका डेपुटी सीईओ ज्ञवाली लेख्छन्, ‘कुनै बैंकले प्रवाह गरेको कर्जा खराब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिङ कसुर लगाउने अनि प्रबन्धकदेखि सीईओ/बोर्डसम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रामा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुँदैनन् ।’

कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराधमा हदैसम्मको कारबाही हुनुपर्ने उनी बताउँछन् । तर सामान्य बैकिङ अभ्यास नबुझी कुनै पेशाकर्मीलाई दुःख दिनु गलत भएको उनको भनाइ छ।

डेपुटी सीईओ ज्ञवालीले सामाजिक सञ्जालमा राखेका स्टाटस यस्ताे छ :
समाचारहरुमा देखे पढे अनुसार असुल्नु पर्ने ऋण भन्दा धितो कम भएकाले क़र्ज़ा दुरुपयोग अभियोगमा ११ जना बैंकरलाई सीआईबी ले समात्यो रे!!

कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि RM देखि सीईओ/बोर्ड सम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन । जसलाई मन लाग्छ, एक हप्ता फ़ाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ। कर्जा प्रवाह गर्दा व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्यास सम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु ग़लत हो। रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु । जहांसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिंग सेक्टरलाई पत्याउन मुस्किल छ। अरु बैकरहरु को बारेमा म जानकार हुन सकिन तर मनोज, दिपेश र राजेश ले घुस खाए, बेईमानी गरे भनेर पत्याउन म सक्दिन । यस पुर्व BOK का सीईओ लाई यसै दुःख दिईयो । धितो पर्याप्त लिई कर्जा प्रवाह गरेको र घुस खाएको छ भने सजाय हुनुपर्छ, जो बदमास छ अनुसन्धान गरेर उसैलाई समात्ने क़ानूनी व्यबस्था भएको भए सबैतिर त्रास हुन्थेन की? बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागी पनि अनावश्यक सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो? धेरै प्रश्न आईरहे ।

नोट: घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितो को ५०% देखि ७०% सम्म दिन मिल्दछ तर व्यावसायिक कर्जा/ कर्पोरेट कर्जा/ इन्फ़्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा Stock, Receivale र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्दछ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना , स्टॉक र receivable मात्रै पनि हुन सक्दछ । संसारभरको बैंकिंग प्राक्टिस यही हो ।

जय होस!!

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १२:४५   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।