विराटनगर- संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिएको छ।
निर्वाचन मिति तोकिएसँगै कुन राजनीतिक दलबाट कसले टिकट पाउला भन्ने आम चासोको विषय बनेको छ। त्यसमा पनि नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा र चासो हुन थालेको छ। यहीबीच रास्वपाले केन्द्रीय सदस्य रमेश प्रसाईंलाई उम्मेदवार बनाउने तयारी गरेको चर्चा हुन थालेको छ।
प्रसाईंसँगै रास्वपाबाट बैंकर अनिल केशरी, पत्रकार मिलन लिम्बूलगायतको नाम पनि चर्चामा छ। रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम–२ को उपनिर्वाचनका लागि कमाण्डर तोकेर पठाएको छ। उनले पनि प्रसाईंलाई नै टिकट दिनुपर्छ भन्ने जमात ठूलो रहेको बताएका छन्।
प्रसाईं झापा बस्ने भएकाले इमालसँगको सम्बन्ध राम्रो भएको रास्वपाको बुझाइ छ। प्रसाईंले भने उक्त क्षेत्रबाट जनजाति उम्मेद्वार उठाउनु्पर्ने धारणा राखेका छन्। पार्टी समावेशी हुनुपपर्छ भन्नेमा आफू दृढ रहेको उनको भनाइ छ। व्यक्तिगत हितभन्दा संगठनको हितलाई हेर्नुपर्ने उनले बताए।
पार्टीले टिकट दिने निर्णय गरेको खण्डमा भने चुनावी प्रतिस्पर्धामा खरोरूपमा प्रस्तुत हुने उनले बताएका छन्।
रास्वपाले एमालेसँग तालमेल गर्ने भन्ने चर्चा चलिरहे पनि त्यो सम्भावना नरहेको रास्वपाले प्रस्ट पारेको छ।
उता इलाम–२ को उपनिर्वाचनका लागि यसअघि प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसका आन्तरिक कमिटीहरू चुनावलक्षित सांगठनिक तयारी गरिरहेका छन्।
एमाले स्रोतका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेम्वाङका छोरा सुहाङ नेम्वाङको बढी चर्चा छ। यस्तै एमालेबाट नेताहरु उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रविन्द्र सुवेदीलगायतको चर्चा छ।
उता, कांग्रेसबाट यसपटक पनि डम्बरबहादुर खड्का नै उम्मेदवार बन्ने सम्भावना छ। कांग्रेस इलामका सभापति समेत रहेका खड्का ०७९ को निर्वाचनमा नेम्वाङसँग थोरै मतले पराजित भएका थिए।




















प्रतिक्रिया