Logo

अर्थ

बैंकका कर्मचारी पक्राउ परेकोप्रति बैंक तथा वित्तीय परिसंघको आपत्ति



काठमाडौं । कर्जा दुरुपयोगको आरोपमा बैंकका कर्मचारी पक्राउ परेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आपत्ति जनाएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्यासको बारेमा गहिरो अध्ययन नै नगरी बैंकर पक्राउ गरिनु आपत्तिजनक भएको परिसंघको भनाई छ ।

परिसंघद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिएको कार्यप्रति यस परिसंघ गम्भीर आपत्ति प्रकट गर्दछ ।’ बैंकका गतिविधिहरू नियामक निकायको सूक्ष्म निगरानीमा रहेको विषय विदितै छ । बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरूलाई प्रचलित कानुन अनुसार कारबाही हुनेमा शंका नरहेको सिबिफिनले जनाएको छ ।

व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति,मौज्दात,आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने परिसंघले स्मरण गराएको छ । ‘तर, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्,’ विज्ञप्तिमा लेखिएको छ ।

नेपालको बैङ्किङ क्षेत्र एसियाली देशहरूकै तुलनामा सबल र सक्षम छन्, यो नेपालका बैङ्क तथा वित्तीय संस्थाहरू र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरूले नै प्रमाणित गरेको परिसङ्घले दोहोर्याएको छ । यसो हुनुमा यस क्षेत्रमा कार्यरत काबिल कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेको परिसङ्घको भनाइ छ ।

“बैङ्किङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैङ्किङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु न्यायसंगत हुँदैन,” विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले बैङ्किङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तराष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत सरोकारवाला सबैंको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

परिसङ्घले कर्जा प्रवाह जस्तो नियमितरूपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १३:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।