काठमाडौं- नेपाली कांग्रेस सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल हो। लामो रस्साकस्सीपछि यही फागुन ७ देखि १० गतेसम्म कांग्रेसको महासमिति बैठक (नीति महाधिवेसन) सकियो। महाधिवेशनमा नीतिका बारेमा गहन छलफल हुन सकेन। कुनै ठोस नीति पनि तर्जुमा गर्न सकेन। बरु सत्ता गठबन्धनमा दरार ल्याउने परिस्थिति सिर्जना भयो।
बैठकमा अधिकांश महासमिति सदस्यले महामन्त्री गगन थापाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनको पृष्ठ २७ मा उल्लेख भएको गठबन्धनका बारेमा आफ्नो धारणा केन्द्रित गरेका थिए। आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने विषय समावेश भएकोमा उक्त विषयको पक्ष र विपक्षमा धेरैले आफ्नो धारणा राखेका थिए।
देउवा उक्त प्रस्तावमा सहमत नभए पनि गगनले अड्डि कसेका कारण महासमिति बैठकबाट उक्त प्रस्ताव पारित भएको थियो। आगामी निर्वाचनमा गठबन्धन त्यागेर कांग्रेस एक्लै लड्ने गरी महासमिति बैठकबाट पास भएको महामन्त्री थापाको प्रस्तावले नेकपा माओवादी केन्द्रमा तरंग ल्याएको छ।
कांग्रेस महासमितिबाट पारित भइसकेको महामन्त्री थापाको उक्त प्रस्तावबारेमा १५ फागुन मंगलबार बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले कुरा उठाएका थिए। नेताहरूले कुरा उठाएपछि माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले पनि आफूले यो कुरा गम्भीर रुपमा लिएको बताएका थिए।
बैठकमा यही फागुन २९ गते हुन लागेको राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले कुनै हालतमा दाबी छाड्न नहुने कुरा पनि नेताहरूले उठाएका थिए। सबै संवैधानिक पद अरु दलले लगेको अवस्थामा माओवादीले राष्ट्रिय सभा अध्यक्षको पद छाड्न नहुने कुरा बैठकमा राखेका थिए।
माओवादी नेताहरूले कांग्रेस महासमिति बैठकमै जनयुद्धविरुद्ध बोलेको र हिन्दु राष्ट्रको पक्षमा अभियान थालिएको कुरा संविधानको मर्म र भावनाविपरीत रहेको बताएका थिए।
बैठकमा गठबन्धनमा हुँदा पनि कांग्रेसले आफूहरूलाई पटक पटक धोका दिएको पनि गुनासो पोखेका थिए। उनीहरूले पटक पटक धोका पाए पनि आफूहरू गठबन्धनप्रति इमान्दार रहेको कुरा पनि बैठकमा राखेका थिए। नेताहरू राष्ट्रिय सभा निर्वाचनसहित कांग्रेसले पटक पटक धोका दिएर अप्ठेरोमा पारेकाले यसबारे नेतृत्वसँग कुरा गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए।
यही तरंगले राष्ट्रिय सभा अध्यक्षमा माओवादीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ। जसको तनावमा कांग्रेस सभापति शेरबहादुर देउवा परेका छन्। उनले प्रधानमन्त्री दाहाललाई फकाउन थुप्रै प्रयासहरू गरिरहेका छन्। देउवाले प्रचण्डलाई मन्त्रिपरिषद् पुनर्गठनदेखि पार्टीको महासमिति बैठकबाट पारित दस्ताबेज परिमार्जन गर्न सकिनेसम्मको संकेत दिएका छन्।
यता कांग्रेस नेताहरू भने सभापति देउवा र प्रधानमन्त्री दाहालबीचको अनौपचारिक सहमतिकै आधारमा नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याइएको बताउँदै आएका छन्। मन्त्रिपरिषद् पुनर्गठनमा देउवा लचक भइदिँदा राष्ट्रिय सभाको अध्यक्ष पूर्वसमझदारी अनुसार नै आफूहरूले पाउने दाबी कांग्रेसको छ। कथम् माओवादीले अध्यक्ष दिन नखोजेमा भने सत्ता गठबन्धनको निरन्तरतामा संकट उत्पन्न हुने कांग्रेस नेताहरूले पनि बताइरहेका छन्।
कांग्रेस सभापति देउवाले सार्वजनिक कार्यक्रममा सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउँदै आएका छन्। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको बताए। पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे।
चुनाव आउन लामो समय बाँकि रहँदा यतिबेला गठबन्धनको विषय आवश्यक नरहे पनि गगनले बेमौसमी बाजा बजाएर गठबन्धनमा दरार पैदा गर्न खोजेको भन्दै कांग्रेसभित्र उनीप्रति असन्तुष्टि बढ्दै गएको छ।
उता माओवादी अध्यक्ष दाहाल सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सहमत भए पनि हाल परिस्थिति फेरिएको अभिव्यक्ति दिँदै आएका छन्। उनले शान्ति प्रक्रियाका साथै सविधान निर्माण प्रक्रियामा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिमा सिटौला आए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेको भन्दै प्रचण्डले गठबन्धनमा यतिबेला केही घटनाक्रम अलि भिन्न ढंगले अगाडि बढेको बताए।
प्रमुख प्रतिपक्षीदल नेकपा एमाले पनि गठबन्धन टुटेमा आफूलाई फाइदा हुने अपेक्षासहित ‘ढोक्सा’ थापिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँगको भेटवार्तालाई पनि तीव्रता दिएका छन्।
दुई नेताहरूका बीचमा बाम एकताका बारेमा चर्चा हुने गरेको स्रोतले बताएको छ। आजमात्रै पनि दुई नेताबीच बालुवाटारमा झन्डै एक घण्टा वान टु वान वार्ता भएको छ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए। उनीहरूबीच समसामयिक विषयमा झन्डै एक घण्टा कुराकानी भएको बताइएको छ।
संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।




















प्रतिक्रिया