Logo

अर्थ

असल नियतले काम गर्ने बैंकर डराउनु पर्दैन : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असल नियतका साथ काम गर्ने बैंकर डराउनु नपर्ने बताएका छन् ।

संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले कसैले उजुरी दिएमा कर्जाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई पनि भएकाले यसमा सहयोग गर्न आग्रह गरेका हुन् ।

असल नियतका साथ काम गरेको भए डराउनु नपर्ने र यसमा राष्ट्र बैंकले पनि सहयोग गर्ने गभर्नर अधिकारीले बताएका छन् ।

‘बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले पनि नियमन तथा सुपरिवेक्षण नियमितरुपमा गरिरहेकै हुन्छ। बैंकर्सविरुद्ध कसैले उजुरी दिएमा प्रहरीलाई पनि छानबीन गर्ने अधिकार छ । सहकारी प्रकरणमा प्रकाउ पर्नु भएका बैंकर्सका कारण आत्तिनुपर्ने छैन । उहाँहरूले गलत काम गर्नुभएको छैन भने निर्दोष सावित भइहाल्नुहुन्छ । गलत मनसायका साथ कर्जा प्रवाह गर्नुभएको छैन भने उहाँहरूलाई राष्ट्र बैंकले सहयोग गर्छ । अहिलेलाई प्रहरीको अनुसन्धानलाई सहयोग गरौँ। यसबाट आत्तिनुपर्ने अवस्था छैन’, गभर्नर अधिकारीले भने ।

गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको अराजक गतिविधिलाई रोक्न सकिएन भने कर्जाको माग र कर्जा प्रवाहमा समस्या हुने उल्लेख  गरे । उनले यो विषयमा नेपाल सरकारका सचिव र मन्त्रीहरूसँग निरन्तर फलफल भइरहेको जिकिर गरे ।

उनले भने,’अराजकतालाई रोक्न सकेनौं भने हामीले सोचेअनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह  हुने अवस्था छैन । यसले बैंकिङ क्षेत्रमा मनोबल गिराउने काम भइरहेको छ । बैंकका स्टाफहरूलाई कालोमोसो दल्ने । स्टाफहरूलाई अफिसबाट बाहिर निस्कने वित्तिकै नराम्रो व्यवहार गर्ने ।  बैंकिङ क्षेत्रलाई धारासायी बनाउन सकियो भने अरु खालका उद्देश्य परिपुर्ति गर्नलाई यस्तो खालको समूहले काम गरिरहेको हुन्छ। यसलाई समयमै रोक्नुपर्छ ।’

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १४:०२   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।