Logo

अर्थ

अब सरकारी कर्मचारीले खुल्ला बजारबाट सेयर किन्न पाउने

लोक सेवा तयारी कक्षामा पढाउन नपाउने



काठमाडौं । अब बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । तर, उनीहरुले खुला बजारबाट सेयर खरिद गर्न भने पाउने छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई सेयर खरिदबिक्री गर्न अनुमति दिइएकाे छ ।

लोक सेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सन्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन पाउने छैनन् ।

कतिपय कर्मचारीहरुले लोक सेवा तयारी कक्षामा पढाउने र कार्यालय समयमा पनि त्यसको नोट वा प्रश्नपत्र बनाएर बस्ने गरेको गुनासो बढेपछि सरकारले त्यस्ता कर्मचारीहरुलाई कडाइ गर्न खोजेको हो ।

सरकारी कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । यस वयवस्था अन्तर्गत बहालवाला कर्मचारीले नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पाउने छैनन् ।

खुल्ला बजारबाट सेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक सेयर खरिद गर्न भने पाउनेछन् । उक्त व्यवस्थामा कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने उल्लेख गरिएकाे छ ।

यस्तै, कर्मचारीहरुले राजनीतिमा दलमा आवद्ध हुन, सरकारको आलोचना गर्न, बन्द हड्ताल गर्न, अन्यत्र काम गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार चन्दा लगायत लिन र सापटी समेत लिन नपाइने भएकाे छ ।

निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सन्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पनि समेत नपाइने पनि संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १४:३५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।