Logo

अर्थ

राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आगामी फागुन २९ गते अनलाइन बोलकबोलमार्फत ‘विकास ऋणपत्र झ’ नामक ८ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

यो ऋणपत्रको निष्कासन मिति फागुन ३० गते र साँवा भुक्तानी २०८८ फागुन ३० गते रहेको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिष्पर्धी वा अप्रतिष्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलकबोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ६८० करोड र १२० करोड छुटुटाइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको ऋगत(इाा ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १०:४७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।