Logo

प्रमुख समाचार

राजनीतिक विरासतका महरा बेला-बेला प्रहरी हिरासतमा



काठमाडौं- कृष्णबहादु महरा नेकपा माओवादीका बरिष्ठ एवम् प्रभावशाली नेता हुन्। प्रतिनिधि सभाका पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष महरा कुनै बेला प्रचण्डपछि दोस्रो बरियतामा प्रभावशाली व्यक्तिका रूपमा चिनिन्थे।

तर, विभिन्न घटनाक्रमले उनलाई गाल्दै लगेको छ। सोमबारमात्रै सुन तस्करीप्रकरणमा मुछिएका महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएसँगै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेपछि उनी पक्राउ परेका हुन्।

महराको राजनीतिक विरासत निकै लामो छ। लोकतान्त्रीक गणतन्त्रका लागि उनको योगदान र भूमिका पनि ठूलो छ। तर, उनको नियति र समयले महरालाई बेला-बेला निकै अप्ठ्यारो मोडमा उभ्याइदिने गरेको छ।

महरा शिक्षण पेशाबाट राजनीतिमा हाम फालेका पात्र हुन्। उनी प्रचण्डका विश्वासिला सहयात्री पनि हुन्। महरा कुनै बेला देशका प्रमुख ५ पदमध्ये पर्ने सभामुखको कुर्सीमा पुगिसकेका व्यक्ति हुन्। पद र शक्तिको उचित सदुपयोग गर्न नसकेकै कारण उनी जीवनको बुढेउली उमेरमा बदनाम भइरहेका छन्। र, आफ्नै मतिले दु:ख पाइरहेका छन्।

सिआइबी नियन्त्रणमा रहेका महरा यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा छन्। त्यहाँ उनी प्रहरीको उच्च निगरानीमा उपचार गराइरहेका छन्।

प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो।

सुन तस्करी प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय आयोगले भने यसअघि मुद्दा नचलाई छाडिएकोमा आपत्ति जनाउँदै थप छानबिन गरी मुद्दा चलाउन सुझाव दिएपछि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीपरिषद्को निर्णय र त्यस अनुसार नै पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको आदेश अनुसार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंमा रहेका महरा उपत्यकाबाहिर गएपछि प्रहरीले पिछा गर्दै कपिलवस्तुबाट पक्राउ गरेको हो। पक्राउपछि काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरोमा सोधपुछ गरी म्याद थपका लागि अपराह्न काठमाडौं जिल्ला अदालतमा लगेको थियो।

काठमाडौंबाट हिँडेका महरा सोमबार बिहानै ८ बजे नवलपरासी पुगेका थिए। उनी सवार गाडी बिग्रिएपछि उनले पार्टी केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री कपिलवस्तुका वकिल मुसलमानलाई फोन गरेका थिए। उनले मुसलमानलाई चन्द्रौटासम्म उनको गाडीमा पुर्‍याइदिन अनुरोध गरेका थिए।

पार्टीको उपाध्यक्षले बिहानै फोन गरेपछि मुसलमानले गाडी लिएर भैरहवा नवलपरासीको बीचमा पुगेर उनलाई ‘रिसिभ’ गरेका थिए। मुसलमान दिनहुँ थेरापीका लागि भैरहवा आउजाउ गर्दा रहेछन्। महरालाई चन्द्रौटासम्म पुर्‍याएर फेरि भैरहवा फर्कने उनको तयारी थियो। चन्द्रौटा पुगेपछि महरालाई लिन अर्कै गाडी बोलाउने तयारी गरिएको थियो। महराले गाडी फेरि–फेरि यात्रा गरिरहेका थिए।

बागमती ०१०२७ च १९९३ नम्बरको रातो कारमा उनीहरू सवार गर्दै थिए। हिँडिरहेकै बेला एक्कासि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कुबेर कडायतले मुसलमानलाई फोन गरेर भने, ‘महरा सर हजुरसँगै हुनुहुन्छ?’

माओवादी नेता मुसलमानले ‘हजुर हुनुहुन्छ’ भनेपछि उनकै फोनबाट डीआईजी कडायत र महराबीच कुरा भयो। कडायतले महरालाई ‘हजुर काठमाडौं जानुपर्ने भयो’ भनेपछि महराको यात्रा कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीबाट काठमाडौंका लागि ‘युटर्न’ भयो। बर्दघाटबाटै पिछा गरिरहेको प्रहरीले कपिलवस्तु पुगेर महरालाई पक्राउ गर्‍यो।

रूपन्देही र कपिलवस्तुका प्रहरी प्रमुखसहितको टोलीले प्रहरी चौकी पकडीमा महरालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा आएपछि कपिलवस्तुका प्रहरी प्रमुख उतैबाट फर्किए। रुपन्देहीका प्रहरी प्रमुखले आफ्नो गाडीमा राखेर भैरहवा विमानस्थल लिएर गए।

त्यसपछि महरालाई प्रहरीको घेरामा राखेर गौतमबुद्ध विमानस्थलबाट यती एयरलाइन्सको वाई टी–८९२ नम्बरको जहाजबाट बिहान साढे १० बजे काठमाडौं पठाइएको थियो।

२०७९ पुस १० मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चिनियाँ नागरिक ली हासोङका साथबाट इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको नौ केजी सुन बरामद गरेको थियो। हासोङको साथबाट बरामद ७३० वटा भेप तथा गत साउन २ गते विमानस्थलबाट आन्तरिक राजस्व अनुसन्धानले बरामद गरेको ६० केजी तस्करीको सुन प्रकरणमा पक्राउ परेका महराको संलग्नता देखिएपछि सिआइबीले अनुसन्धानका क्रममा महरालाई पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले बरामद गरेको तस्करीको सुन छुटाउन कृष्णबहादुर महरा र छोरा राहुलले भन्सार कार्यालयलाई पटक पटक दबाब दिएको आयोगले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। राहुललाई भने अदालतको आदेशबमोजिम थुनामा पठाइएको छ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा चलाउन पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सिफारिस गरेको थियो। पूर्वसभामुख महरा र तस्करीको मुख्य लगानीकर्ता चिनियाँ नागरिक वाङबिच पटक पटक कुराकानी भएको खुलेको छ। सो सुन प्रकरणमा चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग महराका छोरा राहुलको पनि सम्बन्ध देखिएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

चिनियाँसँग ५० करोड रुपियाँ बार्गेनिङ गरेको अडियो प्रकरण, संसद् सचिवालयकी महिला कर्मचारी रोशनी काण्ड र अवैध सुन तस्करी प्रकरणमा महरा फसेका छन्। यी प्रकरणले उनलाई बेलाबेला राजनीतिक विरासतबाट हिरासतसम्म पुर्‍याउने गरेको छ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १२:१३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।