Logo

प्रमुख समाचार

अप्ठ्यारो मोडमा नागरिक उन्मुक्ति, रञ्जितालाई कारबाही गर्ने मुडमा रेशम



काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद निकै उत्कर्षमा पुगेको छ। २१ फागुनपछि बनेको एमाले–माओवादीसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइकि थिइन्। सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण अनिर्णित बनेको छ। श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक आह्वान गर्दै केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकी थिइन्।

उक्त निर्णयको पार्टीभित्र एकथरी पक्षले चर्को आलोचना गरेका थिए। सुदूरपश्चिम संसदीय दलका नेताले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन कायमै रहने भन्दै टीकापुर बैठकको निर्णयको प्रतिवाद गरेका थिए।

त्यसको भोलिपल्ट बिहीबार नाउपाका २ विनाविभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

जिम्मेवारी लिएको देखेपछि पार्टी अध्यक्ष श्रेष्ठ झन् कडा रूपमा प्रस्तुत हुँदै शुक्रबार प्रदेश सरकारबाट फिर्ता हुन भन्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन नै जारी गरिन्। फिर्ता नभए कारबाही गर्ने उनको चेतावनी थियो।

कारबाहीको चेतावनी स्वरुपको पत्र सम्प्रेण गरेको केही घन्टामै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ नै एक्लिन पुगेकी थिइन्। पार्टीका संस्थापक नेता दामोदर पण्डितको साथले टीकापुर बैठकबाट माओवादी एमालेसहितको सत्ता गठबन्धनको सबै तहको सरकारलाई साथ दिनुपर्ने निर्णय गराएकी थिइन्। तर, उनै पण्डितले सो निर्णयमा आफ्नो कुनै समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि उनी एक्लिन पुगेकी हुन्।

रेसम र रञ्जिता श्रीमान्-श्रीमती हुन्। उनीहरूबीचको चर्को विवादका कारण पार्टी निकै अप्ठ्यारो मोडमा पुगेको चर्चा हुन थालेको छ। रेशम र रञ्जिताले एक अर्काको खुलेरै विरोध गर्न थालेका छन्।

केही दिन पहिले सामाजिक सञ्जालमा रञ्जिताको नाममा लामो पत्र लेखेका रेसम यतिबेला जापानमा छन्। उनले त्यहाँ पुगेर पनि श्रीमतीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन्।

थारु कल्याणकारी सभा जापानको कार्यक्रममा सहभागी हुन जापान पुगेका रेसमले त्यहाँ अन्तरकलहको पोको खोलेका थिए। ११ महिनासम्म मन्त्री हुँदा रञ्जिताले कुनै काम गर्न नसकेको रेशमको आरोप थियो।

उनले भनेका थिए, ‘११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो, तर कांग्रेस, एमाले र माओवादीको मात्रै काम भयो, जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर गाडी चढ्नलाई, सुत्नलाई घर लिनलाई, उद्घाटन गर्नलाई मात्र हामीलाई मन्त्रालय चाहिएको छैन।’ चुनावमा उपयुक्त नेतालाई टिकट दिएनछु कि भन्ने महशुस भइरहेको बताएका उनले आगामी दिनमा त्यस्तो हुन नदिनेसम्म भन्न भ्याएका थिए।

‘सकेसम्म रेशम चौधरीको आँखा छलेर सिंहदरबार जान पाइएला भन्नेमा साथीहरू छन्’, उनले भने, ‘हिजो जेलमा जो आयो, त्यसैलाई टिकट दिए । को राम्रो, को कस्तो, मैले चिनिनँ ।’

ठूला दलहरूले साना दललाई आफ्नो स्वार्थमा प्रयोगमात्र गरिरहेको र यो कुरा रञ्जिताले नबुझेको रेशमको दाबी छ । पार्टीका नेताहरुलाई सेचत गराउँदै उनले भने, ‘अहिलेका ठूला दल भनेको हाम्रा घर भत्काइदिने, हामीलाई आहारा बनाइदिने स्याल, हुँडार, बाघ भालुजस्तै हुन्, यीनले ०८४ सम्म साना सबै पार्टीलाई सखाप पार्ने योजना बुनेका छन् ।’

रेसमले केही समयअघि सामाजिक सञ्जालमार्फत् रञ्जितालाई ठूला दलको प्रलोभनमा नपर्न आग्रह गरेका थिए । श्रीमान–श्रीमतीको वैचारिक विवादकै कारण पार्टी नै फूटतर्फ उन्मुख भइरहेको चिन्ता गर्दै उनले भनेका थिए, ‘रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’

जापानमा रञ्जितामाथि रेसमले आक्रोस पोखिरहँदा यता रञ्जिताले पनि आफ्नो सक्रियता बढाएकी छन्। रेशम विदेशमा रहेका बेला केन्द्रीय समितिको बैठक बोलाएर उनले आफू अनुकूल निर्णय गराएकी थिइन्। तर, उनको त्यो निर्णय धेरै बेर टिक्न सकेन। दामोदर पण्डितको विज्ञप्तिसँगै उनी एक्लिन पुगिन्।

अध्यक्ष रञ्जिताले रेसम नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरूले बताएका छन्। रञ्जिताले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन्। प्रदेशमा पनि सोही समीकरणलाई समर्थन गर्नुपर्ने उनले बताउँदै आएकी छन्। तर, संरक्षक रेसम भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ जना मध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन्।

आफू स्वदेश फिर्ता नहुँदै स्वच्छेचारी रूपमा निर्णय लिएको भन्दै आफ्नै रञ्जितालाई कारबाही गर्ने रेशमको तयारी रहेको उनी निकट स्रोतले बताएको छ।

यता मुख्यमन्त्री नियुक्त हुँदाका सत्ता साझेदार दलहरूमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन नजिकिँदै गर्दा रेशमको बाटो कुरिरहेका छन्। यही चैत २२ गतेभित्र मुख्यमन्त्री शाहले विश्वासको मत लिइसक्नु पर्ने समयसीमा छ।

यही परिस्थितिकाबीच जापानमा रहेका रेशम चौधरी स्वदेश फर्किने र उनको पहलकदमीमा नागरिक उन्मुक्तिका सबै सांसदहरूले आफ्नै सरकारलाई समर्थन गर्ने विश्वासमा मुख्यमन्त्री शाह छन्।

मुख्यमन्त्री शाह कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपा एक र एक जना स्वतन्त्र सांसदको साथ पाउने विश्वासमा छन्। शाहले उनीहरूको साथ पाए बहुत आवश्यक संख्या २७ जना पुग्छ। तर नागरिक उन्मुक्ति भित्रकै रडाको व्यवस्थापन हुन नसकेर एक जना मात्रै सांसदले पनि समर्थन नगर्ने अडान लिएमा भने मुख्यमन्त्री शाहलाई अहिलेकै अवस्थामा विश्वासको मत प्राप्त गर्न सम्भव हुने छैन।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार ११:२६   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।