काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।
मुख्यसचिवसहित राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन् । उनीहरुलाई ३८ करोड ६७ लाख १७ हजार रुपैयाँको बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार मुद्दा दर्ता भएपछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामती इतिहासमा यो सम्भवतः पहिलो घटना हो ।
उनीहरुविरुद्ध अख्तियारले ४३ करोड ३२ लाख थान अन्तशुल्क स्टिकर छपाइको ठेक्का घोटला भएको आरोप लगाएको छ । मदिरामा प्रयोग हुने यस्तो स्टिकर छपाइ गर्न आन्तरिक राजस्व विभागले विना प्रतिस्पर्धा नै सुरक्षण मुद्रण केन्द्रलाई जिम्मा दिएको थियो ।
२०७९ असोजमा आन्तरिक राजस्व विभागले केन्द्रलाई प्रतिस्टिकर ६० पैसाका दरले छपाइ गर्न दिएको थियो । तर केन्द्रले ८७ पैसाका दरले छपाइ गर्न स्वदेशी प्रिण्टिङ कम्पनी ‘प्रिन्ट सेल’लाई जिम्मा दियो । ठेक्काका क्रममा जम्मा ३ वटा कम्पनी प्रतिस्पर्धामा आएको र त्यसमध्ये दुईटा कम्पनी अयोग्य घोषित भएका थिए ।




















प्रतिक्रिया