Logo

अर्थ

असारे विकासमा पौने २ खर्ब बजेट खर्च



काठमाडौं । सरकारले असारे विकासमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । २५ असार बिहानसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

१ असारका दिन ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो । यसआधारमा बाँकी २५ दिनमा सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ ।

कुल भुक्तानी मध्ये १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ विकास खर्च अर्थात् पुँजीगत खर्चतर्फ भएको छ भने बाँकी नियमिति खर्चतर्फको भुक्तानी भएको छ ।

यो वर्ष विनियोजित बजेटको ७७.४४ प्रतिशत मात्र खर्च हुन सकेको छ । कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले चालुतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ (विनियोजित बजेटको ८१.७९ प्रतिशत) खर्च गरेको छ भने पुँजीगत अर्थात् विकास खर्चतर्फ जम्मा १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ (विनियोजित बजेटको ५६.९७ प्रतिशत) खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

पुँजीगत खर्च १ खर्ब ७२ अर्ब नाघ्यो

२५ असारसम्मको तथ्यांक अनुसार पुँजीगत खर्च १ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो रकम कुल पुँजीगत बजेटको ५६.९७ प्रतिशत हिस्सा हो ।

यस वर्ष सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको छ । चालु खर्च भने लक्ष्यको ८१.७९ प्रतिशत नाघिसकेको छ । यस वर्ष ११ खर्ब ४१ अर्ब रुपैयाँ चालु खर्चको लक्ष्य राखेकोमा ९ खर्ब ३३ अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च भइसकेको छ ।

वित्तीय व्यवस्थातर्फ समेत २५ असारसम्म लक्ष्यको ८१.४ प्रतिशत खर्च भइसकेको छ । यस वर्ष सरकारले वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्बको लक्ष्य राखेको छ, जसमध्ये मंगलबार बिहानसम्म २ खर्ब ५० अर्ब खर्च गरिसकेको छ ।

राजस्व सङ्कलन

आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले राजस्व तथा गैरराजस्व गरी १० खर्ब १५ अर्ब ८२ करोड २ लाख रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । यो लक्षित राजस्वको ६८.९९ प्रतिशतको मात्र प्राप्ति हो ।

बजेटमार्फत १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको राजस्व सङ्कलनको लक्ष्य राखेको सरकारले समीक्षा अवधिमा राजस्वतर्फबाट ९ खर्ब ८९ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ सङ्कलन गर्न सकेको छ भने गैरराजस्वबाट १ खर्ब १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

यता अनुदानतर्फ भने सरकारले आर्थिक वर्षका लागि राखेको ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँमा जम्मा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ (लक्ष्यको ५.५२ प्रतिशत मात्र) लिन सकेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार ११:४८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।