नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको भदौ १७ गते बसेको विशेष साधारणसभाबाट प्रस्ताव स्वीकृत भएसंगै बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने बाटो खुलेको हो ।
बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले अग्राधिकार शेयर जारी गर्न लागिएको बैंकले जनाएको छ ।
अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात बैंकले ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्नेछ । बैंकहरुलाई लगानीयोग्य रकम जुटाउनको लागि राष्ट्र बैंकले बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको थियो । सोहि व्यवस्थाअनुसार नबिल बैकले पनि अग्राधिकार शेयर जारी गर्न लागेको हो ।
बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बताए ।
विकास बैकहरुमा कामना सेवा विकास बैंकले राष्ट्र बैंकले तोके बमोजिमको अग्राधिकार शेयर ल्याउने निर्णय गरे पनि बैकहरुमा नबिल बैंक पहिलो हो ।




















प्रतिक्रिया