Logo

अर्थ

२५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋण ८६ हजार ७ सय



काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब रूपैयाँमाथि पुगेको छ । देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार लगातार बढिरहेको छ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो महिना २ महिना अर्थात साउन र भदौमा गरेर १ खर्ब ४ अर्ब सार्वजनिक ऋण थपिएको छ ।

भदौ मसान्तसम्म सार्वजनिक ऋण २५ अर्ब २८ अर्ब ६० करोड रूपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार साउन र भदौमा गरेर ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण थपिएको हो । २०८१ असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रहेको थियाे । यस अवधिमा तिर्न बाँकी ऋणको दायित्व ९४ अर्ब ५२ करोड थप भएको छ ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ । असार मसान्तसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५० अर्ब ४३ करोड थियो ।

सार्वजनिक ऋण कति हो भन्ने हेर्नको लागि त्यस देशको अर्थतन्त्रको अनुपात हेर्ने गरिएको छ ।

अहिले नेपालको जिडिपी ५७ खर्ब ४ अर्ब रूपैयाँको छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा सार्वजनिक ऋण ४४.३४ प्रतिशत पुगेको छ ।

सरकारले चालु वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यस्तै, २ खर्ब १७ अर्ब वैदेशिक ऋण आउने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड ऋण प्राप्ति भएको छ ।

भदौसम्मा ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण प्राप्ति भएको हो । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति १९.०२ प्रतिशत छ । जसमा आन्तरिक ऋण प्राप्ति २७.२७ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ६.४८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८१-८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा भदौ मसान्तसम्म ४७ अर्ब ७१ करोड ५१ लाख भुक्तानी भएको छ । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यसै अवधिमा सरकारले ४२ अर्ब २ करोड आन्तरिक ऋणको भुक्तानी गरेको छ । जसमा ३५ अर्ब साँवा तथा ७ अर्ब २ करोड ब्याज भुक्तानी गरेको हो । त्यस्तै यसअवधिमा ५ अर्ब ६८ करोड बाह्य ऋण भुक्तानी गरेको छ । जसमा साँवा ४ अर्ब ६७ करोड तथा ब्याज १ अर्ब १ करोड रहेको छ ।

यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ।

तथ्यांकअनुसार चालु आव साउन मसान्तसम्ममा प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल २५ खर्ब २८ अर्ब ६२ करोड सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ ।

हरेक वर्ष बजेटको आकार बढ्दै गएकाले सार्वजनिक ऋणको आकारसमेत बढ्दै गएको छ । यसो हुँदा सार्वजनिक ऋणको साँवा भुक्तानी वार्षिक वृद्धिदर बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार ११:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।