Logo

अर्थ

जीबी राईसहित साहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा दर्ता, गोर्खा मिडियाबारे पुन: अनुसन्धान गर्न निर्देशन



काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

१७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।

४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो । सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ रहेको र कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएकोले त्यसबारे पुन: अनुसन्धान गरेर पुरक प्रतिवेदन पेस गर्न चितवन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको छ ।

सरकारी वकिलको कार्यालयले साहारा सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रूपैयाँ बराबरको कारोबार के-कसरी, को-कोसँग भएको हो ? सोको विवरण प्राप्त भएको नदेखिएकाले त्यसबारे अनुसन्धान अघि बढाउन चितवन प्रहरीलाई निर्देशन समेत दिएको छ ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १६:०५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।