Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेलको कोप-२९ भ्रमण फलदायी भएकाे दाबी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय स्पष्टताका साथ प्रस्तुत गरेकाले भ्रमण फलदायी भएको दाबी गरिएकाे छ ।

अजरबैजानको बाकुमा भएको उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृतबहादुर राईले ‘हिमालदेखि समुद्रसम्मको एकीकृत भावनाले जलवायु संरक्षण गर्नुपर्छ’ भनी नेपालले उठाउँदै आएका विषयमा भ्रमणबाट थप जोडबल पुगेको स्पष्ट पारे ।

“जलवायु वित्त, हानिनोक्सानी र अल्पविकसित देशले भोगिरहेका पीडा कम गर्न विश्व समुदायमाझ प्रविधि र वित्तीय सहायता बढाउनुपर्छ भन्ने नेपालको धारणा उजागर गर्न भ्रमणबाट थप बल पुगेको छ”, उनले भने । हिमालदेखि समुद्रसम्मको सम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्व समुदायलाई त्यस बैठकमा सहभागी हुन निमन्त्रणा दिएको प्रवक्ता राईले जानकारी दिए ।

अजरबैजानमा रहँदा राष्ट्रपति पौडेलले यही कात्तिक २७ गते ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’को उद्घाटन समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेताको हैसियतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले कार्बन उत्सर्जनमा नेपालको नगण्य योगदान भए पनि जलवायु परिवर्तनका कारण सेता हिमाल काला पहाडमा परिणत भएको र नेपाल जलवायुजन्य विपत्को चपेटामा परेको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलले कात्तिक २८ गते वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘माउन्टेन एण्ड प्रिलः लस एण्ड ड्यामेज इन द हिमालय’ शीर्षकको एक उच्चस्तरीय कार्यक्रममा सहभागी भई निष्कर्ष वक्तव्य दिएका थिए । वक्तव्यमा विस्फोट र बाढीजस्ता वातावरणीय विपत्ले जनधनको ठूलो विनाश गरिरहेको उल्लेख गर्दै जलवायु वित्त परिचालन गर्दा नेपालजस्ता देशहरुले प्राथमिकता पाउनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले सोही दिन कीर्गिजस्तानले आयोजना गरेको उच्चस्तरीय बैठकमा पहाडी मुलुक जलवायु परिवर्तनबाट बढी प्रताडित बनेको तथा पहाडबाट व्यापक बसाइँसराइ भइरहेको सन्दर्भमा गरिबी निवारण र वातावरणीय विषयलाई सँगै समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए । उनले जलवायु न्याय र दिगो विकासका लागि हिमाल, मानव र जलवायु अन्तरसम्बन्धलाई विश्वव्यापी छलफलमा मूलप्रवाहीकरण गर्नुपर्ने सुझाव दिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अल्पविकसित राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग गरेकाे भेटघाटमा सहभागी भए । उक्त भेटमा राष्ट्रपतिले जलवायु परिवर्तनको प्रभावतर्फ कार्बन उत्सर्जन गर्ने विकसित मुलुक पर्याप्त गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै उनीहरूलाई यसमा अझ जिम्मेवार र गम्भीर बनाउन राष्ट्र सङ्घले भूमिका निर्वाह गरोस् भन्ने आग्रह गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १३:१९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।