Logo

अर्थ

एनसिएचएलको १६औं वार्षिकोत्सव सम्पन्न



काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसिएचलका पूर्व अध्यक्ष तथा निवर्तमान सञ्चालक, वर्तमान अध्यक्षहरू लगायतको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पुस ८ मा एनसिएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो ।

एनसिएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसिएचएल–इसिसीको सुरूवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीतिअनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।

एनसिएचएलले एनएचएल–इसिसी, एनएचएल आइपिएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आइपिएस, कर्पोरेट पे, कनेक्ट आरटिजिएस, नेसनल पेमेन्ट इन्टरफेट, नेपाल पे क्युआर लगायतका सेवा कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । एनसिएचएलले कम्पनीमा १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ ।

सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत–मुन्नी राजभण्डारी, प्रोडक्ट लीड–विष्णु प्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स–वन्दना लुइँटेल रहेका छन् ।

वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआइसी एसिया बैंक, गरिमा विकास बैंक र आइसिएफसी फाइनान्सलाई “एक्सिलेन्स इन नेपालपे क्युआर ट्रान्जेक्सन” अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’ तथा ‘एक्सिलेन्स इन मोबाइल बैंकिङ तथा अल्टरनेट च्यानल’ अवार्डबाट सम्मानित गरिएको थियो । नबिल बैंक ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिजनेस विथ कर्पोरेट पे’ अवार्ड प्राप्त गर्न सफल भएको छ। नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो ।

सरकारी कारोबार बाहेक सबैभन्दा बढी कारोबार गरी सम्मानित हुने वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक/भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए ।

एनसिएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतप्राप्त संस्था हो । एनसिएचएलमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार ११:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।