Logo

अर्थ

तामाकोशीबाट आंशिक विद्युत् उत्पादन सुरु, उद्योगमा बढ्यो आपूर्ति



काठमाडौं । नेपालमा सञ्चालनमा रहेको जलविद्युत् गृहमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतबाट मंगलबार साँझदेखि आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । तामाकोशीबाट हाल १२० मेगावाट विद्युत् मात्रै उत्पादन गरिएको छ ।

४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्णरुपमा बन्द रहेको र भारतले पिक आवर (बढी माग हुने समय)मा बिजुली नदिएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग तथा कलकारखानामा केही समय लोडसेडिङ गरिरहेको छ । प्राधिकरणका अनुसार अहिले साँझको २–३ घण्टा उद्योगको विद्युत् आपूर्तिमा समस्या छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशकै ठुलो विद्युत् गृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘तामाकोशीबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । अब भारतबाट गरिने विद्युत् आयातमा सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा थोरै सहजता हुनेछ । उद्योगलाई विद्युत् बढी समय दिइने छ ।’

पुसभित्र तामाकोशी पूर्ण सञ्चालनमा आउने र त्यसपछि बिजुली आपूर्तिमा कुनै समस्या नहुने उनले बताए ।

असोज ११ र १२ गतेको वर्षाले क्षति पुर्‍याएपछि तामाकोशीबाट विद्युत् उत्पादन बन्द भएको थियो । पहिरोले कन्ट्रोल रुम, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्‍याएको थियो ।

त्यस्तै तामाकोशीको विद्युत् प्रवाह गर्ने गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा पनि क्षति पुगेको थियो ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १५:३९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।