काठमाडौं । अब नेपाल राष्ट्र बैंकले ८ प्रतिशतसम्म खराब कर्जा भएको बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । यसअघि राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने गरेको थिएन ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्ना विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम हुनुपर्ने तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत हुनुपर्ने मापदण्ड राष्ट्र बैंकले जारी गरेको हो ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।
त्यसैगरी निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा ३ अर्ब २० करोड ६५ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६० करोड ११ लाख र वित्तीय संस्थाहरुमा २० करोड ३ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने राष्ट्र बैंकले जनाएको छ ।
उक्त रकम आगामी सन् २०२५ मार्च १२ तारिकदेखि लागू हुनेगरी सन् २०२६ मार्च १२ सम्मका ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित फागुन २० गते राति १२ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।




















प्रतिक्रिया