Logo

समाचार

प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने



काठमाडाैं । नेपालकै इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न लागेको छ । आगामी वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौं, पोखरा हुँदै मुस्ताङको लोमन्थाङसम्म समिटको यात्रा हुने आयोजकले जनाएका छन् ।

विश्वका बद्लिदाे परिवेशमा प्रविधिले निम्त्याए‌को अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, चुनौती र जलवायु संकटजस्ता समसामयिक विषयमा बहस, प्रस्तुती र अन्तर्क्रिया गर्न समिट आयोजना गरिएको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

समिटमा नेपानी पत्रकारितामा पत्रकारहरुले भोग्नु परेका कठिनाई अवसर र चुनौतीमा प्रस्तुती, इनफन मुझाव सहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ ।

चार दिने समिटमा दक्षिण एसियासहित विश्वका ६ राष्ट्रबाट सहभागी विषय विज्ञहरुले प्रविधिको विकासले पत्रकारितामा ल्याएका अवसर र चुनौती, प्रेस स्वतन्त्रता, जलवायु परिवर्तन र नयाँ मिडिया प्रवृत्तिका विषयमा छलफल गर्नेछन् ।

समिटको औपचारिक उद्घाटन वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे हुनेछ । उक्त उद्घाटन समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित विभिन्न देशका वरिष्ठ पत्रकार तथा विज्ञहरुले सम्बोधन गर्नेछन् ।

विदेशी पत्रकारसहित करिव एक सय पचास पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौं, पोखरा हुँदै मुस्ताङको लोमन्थाङसम्म हुनेछ ।

पोखरामा हुने विषयगत सत्रहरूमा ‘जलवायु संकट र पत्रकारिता’, ‘दक्षिण एसियामा एआई र न्यू मिडिया’, र ‘प्रेस स्वतन्त्रता: अभ्यास र चुनौती’ जस्ता ज्वलन्त विषयमा प्रस्तुती तथा बहस गरिनेछ ।

समिटको अन्तिम चरणमा सहभागीहरू मिडिया यात्रामा लोमन्थाङसम्म पुग्ने छन् । मुस्ताङको जोमसोममा स्थानीय बासिन्दासँग ‘जलवायु संकटमा मिडियाको भूमिका’ बारे अन्तरक्रिया गरिनेछ । सोही दिन ‘लोमन्थाङ घोषणा पत्र’ जारी गर्दै कार्यक्रम सम्पन्न गरिनेछ।

 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १४:३०   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।