काठमाडौं । सरकारले घरजग्गा कारोबारमा अब अनिवार्य रुपमा घरजग्गा किन्ने र बेच्ने दुवैंको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुने व्यवस्था गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को व्यवस्था अनुसार यो नयाँ निर्देशिका लागू गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आताङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्वन्धमा जारी गरिएको निर्देशन, २०८२’ ले यस्तो व्यवस्था गरेको हो ।
यो व्यवस्थाअनुसार अबदेखि खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने छ । एक व्यक्तिले एक दिनमा तीन करोडभन्दा बढीको कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाअनुसार अबदेखि घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनावट्टाको कागज पेश गरेमा १० लाख रुपैयाँभन्दा बढीको बैनावट्टा भएको अवस्थामा त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विधुतीय कारोबार प्रणालीमार्फत लेनदेन भएको विवरण बैनावट्टाको कागजातसहित पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा १० लाख ५० लाखसम्मको कारोबार बैकिङ्ग प्रणाली वा विद्युतीय भूक्तानी प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । तर ५० लाखभन्दा बढि रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत बिक्रीकर्ताको नाम तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
याे व्यवस्थाले सम्पत्ति शुद्धीकरण निरुत्साहित गर्ने, कारोबार पारदर्शी बनाउने र राजस्व चुहावट रोक्ने मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया