Logo

वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक इजलासमा रहेकाे मुद्दा आज सुनुवाइ हुँदै



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि आज सुनुवाइ हुने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले न्यायाधीश आइसोलेशनमा हुँदा संवैधानिक इजलास गठन हुन सकेको थिएन। गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा रहेको छ । यसअघि गत १६ गते हेर्दाहेर्दैमा राखिएको उनी विरूद्धकाे रिटमा आज सुनुवाइ हुने बताइएकाे छ

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा तोकिएको छ ।

यस अगाडि सर्वोच्चको संवैधानिक इजलासमा वामदेवको तर्फबाट पूर्व महान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता प्रा.डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, राघवलाल वैद्यलगायतले बहस गरेका थिए।

गाैतमविरूद्ध सर्वाेच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । प्रतिनिधिसभाकाे चुनावमा पराजित भएका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय असंवैधानिक रहेकाे भन्दै सरकारकाे साे निर्णय बदर गर्न माग गर्दै त्रिपाठीले रिट दायर गरेका थिए ।

साे रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सरकारका नाममा अन्तरिम आदेश दिएकाे थियाे ।

साे एकल इजलासले रिटलाई संवैधानिक इजलासमा पठाएको थियो, जसमाथिकाे अन्तिम फैसला आज आउने अपेक्षा गरिएकाे छ । यद्यपि गौतमले भने राष्ट्रियसभा सदस्यमा सरकारले नियुक्ति दिएलगत्तै पद तथा गाेपनीयताकाे सपथ भने लिइसकेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १२:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।