Logo

प्रमुख समाचार

भारी वर्षाका कारण कञ्चनपुरमा बाढीबाट दश परिवार विस्थापित



कञ्चनपुर । आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार बाढीबाट विस्थापित भएका हुन् ।

विस्थापित सबैलाई नजिकैको विद्यालय र आफन्तका घरमा बस्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

“घर डुबानमा परेपछि मानिससहित गाईभैँसी र बाख्रालाई सुरक्षित स्थानमा लगेका छौँ”, उनले भने, “विस्थापितहरू केही आफन्तकामा र केही नजिकैको विद्यालयमा छन् ।”

पुनर्वास नगरपालिका–५ पशुपतिचोक नजिकै डुबानका कारण विस्थापित भएका सात परिवारलाई उद्धार गरेर नजिकैको छिमेकीका घरमा लगिएको छ ।

त्यसैगरी कृष्णपुर नगरपालिका–७ स्थित कार्की कटानमा विस्थापित दुई परिवारलाई अर्को घरमा बस्ने व्यवस्था गरिएको छ ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलमा डुबानका परेको कलावती जोशीको पाँच जनाको परिवार, दुई वटा गाई, एक भैँसी र पाँच वटा बाख्रालाई नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा बस्ने व्यवस्था गरिएको छ ।

भीमदत्त नगरपालिका–१५ स्थित डम्बर राना क्षेत्रीको ज्योति कृषि तथा पशुपन्छी फार्म डुबानमा परेर करिब रु ७२ हजार बराबरको क्षति भएको छ । रासस

प्रकाशित मिति : १६ असार २०८२, सोमबार २१:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।