बुटवल । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति कार्तिक १७ गते तोकेपछि रुपन्देही क्षेत्र नम्बर ३ मा दलहरू सम्भावित उम्मेदवारको खोजीमा जुटिरहेका छन् ।
चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत गैरेले स्थानीयदेखि राष्ट्रिय तहसम्मको राजनीतिक अनुभव बुझेको र मतदाताले चाहेजस्तै नेतृत्व दिन सक्ने दाबी गर्दै आफू स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको घोषणा गरे ।
बुटवल उपमहानगरपालिका–१९ निवासी गैरेले आफू हाल कुनै राजनीतिक दलमा नरहेको र विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहँदै आएको जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य र समावेशी विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने जनाए ।
२०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहोराले जित हासिल गरेका थिए। तर, उनको २०८१ चैत १९ गते उपचारका क्रममा निधन भएपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।




















प्रतिक्रिया