Logo

प्रमुख समाचार

विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने डा रिजालको प्रस्ताव



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा। रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

आइतबारको बैठकमा बोल्दै उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र उनीहरुबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गरौँ।

र महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ डा रिजालले भने । आम निर्वाचन अगाडि महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तलसम्म गुटबन्दी नहुने रिजालले बताए ।

‘महाधिवेशन प्रतिनिधिको मात्रै आम निर्वाचन अगाडि निर्वाचन भयो भने तल–तलसम्म गुटबन्दी हुँदैन भन्ने लाग्छ मलाई । त्यो बाटो नगर्ने हो भने हामीले पार्टीमा झगडा गर्दा–गर्दा पार्टीलाई आउने निर्वाचनमा नाश गर्छौँ,’ रिजालले भने ।

सभापति निर्वाचित भए पनि उनले कार्यकालको सुरुवात आम निर्वाचनपछि मात्रै गर्ने गरी विधान बनाउनुपर्ने रिजालले बताए । त्यसबेलासम्म सभापतिले पार्टी कस्तो बनाउने हो त्यसैअनुरुप विधान संशोधनको प्रस्ताव तयार गर्ने प्रस्ताव उनको छ ।

‘निर्वाचित सभापतिले तत्काल कार्यकाल सुरु गर्ने होइन । आम निर्वाचन पछाडि मात्र कार्यकाल सुरु गर्ने र त्यो बेलासम्म विधान संशोधनको प्रस्ताव तयार गर्ने काम गर्नुपर्छ ।

जस्तो पार्टी बनाउन खोजेको हो, जतिवटा निर्वाचन गराउन खोजेको हो, जुन–जुन तहमा राख्न खोजेको हो, त्यो तहको काम गर्ने गरी विधानमा व्यवस्था गरौँ,’ रिजालले भने ।

आम निर्वाचन पछि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्य तथा प्रदेश समिति र मातहतका समितिको निर्वाचन गर्नुपर्ने प्रस्ताव रिजालको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार २१:११   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।