काठमाडौं । संघीय निजामतीे विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ । सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरे ।
समितिको संयोजक नेपाली कांग्रेसका सांसद एवं सहमहामन्त्री जीवन परियार तोकिएका छन् ।
सभामुख घिमिरेका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।
समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत पारित गरेको ‘कुलिङ पिरियड’को व्यवस्था हटाइएपछि समिति गठन भएको हो ।




















प्रतिक्रिया