Logo

प्रमुख समाचार

बैतडीमा ५२ जनाको अवस्था अज्ञात



भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

आर्थिक वर्ष २०७९-८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

यसैगरी, आव २०८०-८१ मा एक सय १५ हराएकामा एक सय १३ जना फेला परेका थिए । आव २०८१-८२ मा एक सय २२ जना हराएकामा ८६ जना फेला परेका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको सङ्ख्या बढी रहेको प्रहरी प्रवक्ता पाण्डेयले बताए।

गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र एक एक जना ज्येष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो । तीमध्ये ८६ जना फेला परेका छन् ।

बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेलापरेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ । बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले पनि बेपत्ता मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार ०७:५७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।