Logo

खेलकुद

एक रनको हारसँगै नेपालको टप एन्ड टी–२० यात्रामा पूर्णविराम



काठमाडौं । पाकिस्तान साहिन्ससँग एक रनको झिनो हार बेहोरेसँगै अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालको यात्रा समाप्त भएको छ । शुक्रबार डार्विनमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो ।

नेपाललाई अन्तिम ओभरमा सात रनमात्र आवश्यक थियो । तर, अन्तिम ओभरमा दुई विकेट गुमाएर पाँच रनमात्र बनाएपछि नेपालले हार खेपेको हो ।

नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले पनि जितसम्म डोहोर्‍याउन सकेनन् । उनले ४४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २१ बलमा दुई चौका र एक छक्कासहित ४१ रन बनाए । ओपनर आसिफ सेखले २७ र लोकेश बमले १० रन थपे ।

पाकिस्तान साहिन्सका मोहम्मद वसिम र फैसल अक्रमले समान दुई विकेट लिए । मोहम्मद सलमानको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । पाकिस्तानका निम्ति अविजित रहेका कप्तान इर्फान खानले ४२ रन बनाए । इर्फानले २६ बलमा तीन चौका एक छक्का प्रहार गरे । अब्दुल समदले २६ रन बनाए । महोम्मद वासिनले समान २३ रन बनाए । यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । सोमपालले चार ओभरमा ३० रन खर्चिए । नन्दन यादव, दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।

यो हारसँगै नेपालले ६ खेल खेल्दा दुई जित र चारसहित प्रतियोगिता टुंग्याएको छ । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो ।

नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो । पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगाड्र्सलाई ३३ रनले हराएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार २१:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।