Logo

खेलकुद

‘एस आईबीएस थ्री बाइ थ्री’ बास्केटबल: प्रिमियर र क्वासन बने च्याम्पियन



काठमाडौं । प्रिमियर र टिम क्वासनले ‘एस आईबीएस थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ ले पराजित गर्‍यो ।

प्रिमियरबाट अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गरेका थिए । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत गर्ल्सको उपाधि भिडन्तमा क्वासनले बलर्स एकेडेमीलाई ११–१० को साँघुरो अन्तरले पराजित गर्‍यो ।

क्वासनको टोलीबाट सोनाम डोल्मा लामा (कप्तान), ऊर्जा रानामगर, गुरुत्सो लामा र छिरिङ शेर्पाले खेलेका थिए । यसमा पहिलो हुनेलाई १५ हजार तथा दोस्रोलाई आठ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

नेपाल बास्केटबल संघको सहकार्यमा भएको प्रतियोगिताको ब्वाइजमा प्रिमियरका अश्विन र गल्र्समा क्वासनकी ऊर्जा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई संघका अध्यक्ष भीमसिंह गुरुङ र आयोजक एस आईबीएसका कार्यकारी निर्देशक आशिष तिवारीले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार २२:२६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।