विराटनगर । जिल्ला प्रशासन कार्यालय झापाले तीन नगरपालिका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । सार्वजनिक सम्पत्तिका साथै, शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले मंगलबार (भदौ ३१) बेलुकादेखि निषेधाज्ञा जारी गरेको हो ।
कार्यालयका अनुसार, निषेधाज्ञा असोज १ गते बिहान ४ बजेसम्म लागु हुनेछ । निषेधाज्ञा अवधिमा तोकिएको क्षेत्रमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला हुने, जुलुस, सभा, प्रदर्शन लगायतका क्रियाकलाप गर्न निषेध गरिएको छ ।
निषेधित क्षेत्र घोषणा गरिएका क्षेत्रहरूमा बिर्तामोड र दमक नगरपालिकाभर तथा भद्रपुर नगरपालिकाको केही भाग (पूर्वमा चन्द्रगढी विमानस्थल, पश्चिममा लेलिनाथ चोक, उत्तरमा धुम्बोडीहा, र दक्षिणमा राष्ट्रिय वाणिज्य बैंकसम्म) पर्नेछन् ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुरक्षामा सम्भावित जोखिमका कारण यो निर्णय गरिएको बताएको छ । आदेशको उल्लंघन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने पनि जानकारी दिइएको छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनको आवागमनमा भने यो आदेशले रोक लगाउने छैन ।





















प्रतिक्रिया