काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेल अनधिकृत रूपमा डिजिटल माध्यमबाट प्रशारण गरे कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ ।
डिश मिडिया नेटवर्क लिमिटेड र नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त विज्ञप्ति जारी गर्दै एनपीएलका सबै खेलको ओटीटी तथा डिजिटल प्रसारण अधिकार डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)सँग मात्र रहने र अन्य डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालबाट खेल प्रसारण गर्ने कारबाही गर्ने चेतावनी दिइएको हो ।
भारतबाहेक अन्य सबै देशमा नेपाल प्रिमियर लिगका खेलको ओटीटी प्रसारण अधिकार डिशहोमसँग छ । दर्शकले ‘DishHome Go’ एप डाउनलोड गरी लिगका सम्पूर्ण खेल हेर्न सक्ने क्यान बताएको छ ।
डिजिटल तथा ओटीटी प्रसारण अधिकार डिशहोमलाई प्रदान गरिएकाले युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स, टेलिग्राम वा अन्य वेबसाइट तथा एपमार्फत् खेल प्रसारण गर्नु अनधिकृत र गैरकानूनी रहेको बताइएको छ ।
अनधिकृत बिक्री–वितरण, पुनःप्रसारण, रेकर्डिङ वा सम्पादनसमेत कानूनी कारबाहीको दायरामा पर्ने चेतावनी दिइएको छ ।
दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदारलाई आधिकारिक प्लेटफर्म DishHome Go वा तोकिएका च्यानलमार्फत् मात्रै खेल हेर्न आग्रह गरेका छन् । अनधिकृत लिंक तथा साइट प्रयोग गर्दा व्यक्तिगत तथा वित्तीय विवरण चुहिन सक्ने र साइबर अपराधमा पर्न सक्ने जोखिमका कारण त्यस्ता माध्यम प्रयोग नगर्न अनुरोध गरिएको छ ।





















प्रतिक्रिया