Logo

खेलकुद

विराटनगरलाई हराउँदै लुम्बिनी लायन्स् फाईनलमा, अब सुदूरपश्चिमसँग फाइनल खेल्ने



एनपीएल सिजन २ः विराटनगरलाई हराउँदै लुम्बिनी लायन्स् फाईनलमा, अब सुदूरपश्चिमसँग लुम्बिनीले फाइनल खेल्ने  छ ।

लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो ।

लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो ।

विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावरप्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।

६-३ र ३०-४ को अवस्थामा पुगेको विराटनगरका लागि हिजलेट र डे लाङले २८ रनको साझेदारी गरेका थिए । तर, यो साझेदारी ब्रेक भएपछि विराटनगरको ब्याटिङ कोल्याप्स भयो ।

लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए ।

र, अभिशेष गौतमले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । जेजे स्मिथले पनि २ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

टिमको स्कोर ८ हुँदा दिनेश अधिकारी व्यक्तिगत १ रनमा आउट सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए ।

रोहितले ३० बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३४ रन योगदान गरे । लगातार दोस्रो खेलमा ओपनिङ गरेका दिनशे अधिकारीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

यस्तै विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गरी २९ रन जोडे । सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट हुँदा दिलीपन नाथ पनि १ रन बनाएर आउट भए ।

शेर मल्लले ७ रन जोडे । पहिलो १० ओभरमा ६९/१ को अवस्थामा रहेको लुम्बिनीले त्यसपछिको १० ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन ।

पछिल्लो १० ओभरमा लुम्बिनीले ६५ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १९:०९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।