Logo

अर्थ

मुद्रास्फीति १.११ प्रतिशतमा सीमित, सबैभन्दा बढी महँगी कोशी प्रदेशमा



काठमाडौं । मुद्रास्फीति १.११ प्रतिशतमा सीमित छ ।  नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक छ ।

गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष कात्तिकमा समग्र मुद्रास्फीति ५.६० प्रतिशत थियो । अघिल्लो वर्ष खाद्य र पेय पदार्थको मुद्रास्फीति ९.१० प्रतिशत थियो ।

गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत थियो । पछिल्लो चार महिनाको औसत मूल्यवृद्धि १.५३ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिको औसत मूल्यवृद्धि ४.५० प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार तरकारीको मूल्यमा यस वर्ष सबैभन्दा धेरै गिरावट आएको छ । तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशतले घटेको छ ।

मरसमलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ५.३६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । घिउ तथा तेल पदार्थको ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध तथा अन्डाको १.९७ प्रतिशतले बढेको तथ्यांक छ ।

गैरखाद्यतर्फ विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.१७ प्रतिशत, शिक्षा ७.५६, कपडाजन्य तथा जुत्ताचप्पल ६.२९ र सुर्तीजन्यको ४.८४ प्रतिशतले बढेको छ ।

बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ ।

सहरी क्षेत्रमा १.२६ प्रतिशतले मूल्यवृद्धि हुँदा ग्रामीण भेगमा ०.६६ प्रतिशत छ । प्रदेशगत हेर्दा कोशीमा १.८०, मधेश १.७३, बागमती ०.८१, गण्डकी ०.३७, लुम्बिनी १.२७, कर्णाली १.०८ र सुदूरपश्चिममा ०.२६ प्रतिशत छ ।

त्यस्तै काठमाडौंमा १.१६, तराई १.२४, पहाड ०.८८ प्रतिशत र हिमालमा १.०६ प्रतिशतको मूल्यवृद्धि भएको देखिन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १६:४८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।