काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।
६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।
अधिकारीले ४४ वर्ष पूर्णकालीन रूपमा राजनीति गरेको उल्लेख गर्दै इमान, निष्ठा र समर्पणका साथ काम गरेको बताएका छन् । ‘तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरें,’ उनले लेखेका छन् ।
कार्यशैलीबारे उल्लेख गर्दै उनले जिम्मेवारी जसरी पनि पूरा गर्ने बानी रहेको र ढिलासुस्तीको विरोधी रहेको बताएका छन् ।
नेकपा एमालेमा ३३ वर्ष निरन्तर केन्द्रीय सदस्य रहे पनि आफूलाई नेता नभई कार्यकर्ता मानेको उनको भनाइ छ । पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको र समाज परिवर्तनका लागि हिँडेको सच्चा कार्यकर्ता भएको उल्लेख उनले गरेका छन् ।
अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने स्पष्ट पार्दै अधिकारीले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशको हितमा सक्दो योगदान दिने बताएका छन् । नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गर्दै खुसीका साथ सक्रिय राजनीतिबाट बिदा भएको उनको स्ट्याटसमा उल्लेख छ ।





















प्रतिक्रिया