Logo

राजनीति

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल



सर्लाही। सभामुख डोलप्रसाद अर्यालले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उचित राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर पीडित परिवारसँग भेटघाट गर्दै सभामुख अर्यालले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य गरी कानुनी व्यवस्थाअनुसार राहत उपलब्ध गराउने बताएका हुन्।

उनले कानुनी व्यवस्थाले समेट्न नसकेका विषयमा समेत अन्य निकायसँग समन्वय गरेर आवश्यक सहयोग जुटाउन पहल गर्ने बताए।

दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षासम्मको पठनपाठन तथा लालनपालनको जिम्मेवारी सरकारले लिनुपर्ने विषयमा स्पष्ट पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।

सभामुख अर्यालले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस्ता दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

गत बिहीबार छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको रिजर्भ विद्युतीय गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो। सडकबाट करिब ५०० मिटर तल खसेको उक्त दुर्घटनामा सर्लाहीको यसै गाउँका १३ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि घर फर्किएका छन् भने अन्य तीन जनाको उपचार जारी छ।

सभामुखसँगको भेटमा पीडित परिवारले दुर्घटनाको अवस्थाबारे जानकारी गराउँदै प्रभावित परिवारलाई उचित राहत तथा सहयोग उपलब्ध गराउन आवश्यक पहल गरिदिन आग्रह गरेका थिए।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १९:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।