Logo

अर्थ

प्राकृतिक विपद्ः ११ करोड १५ लाखको बीमा भुक्तानी



काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख बराबरको बीमा रकम भुक्तानी भएको छ ।

बीमा प्राधिकरणकाअनुसार गत असोज १८ यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो । त्यसमा कुल ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा ३ अर्ब ५८ करोड ३२ लाख बराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार सो दाबीमा ९ करोड ६४ लाख बराबरको भुक्तानी भएको छ ।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब  ५१ करोड ५७ लाखमध्ये कुल सातवटा दाबीको ९ लाख बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो । त्यसमा करिब ४ करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख भुक्तानी भएको छ ।

यस्तै, मोटर बीमा (निजी)तर्फ ४० वटा बीमा दाबीको करिब २ करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको १ करोड २० लाख भुक्तानी भएको छ । सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुईवटा दाबीको ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको १ करोड १९ लाख र लघुबीमातर्फ दुईवटा दाबीको रु १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार ११:४१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।