काठमाडौं । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्री मण्डलको निधन भएको छ । ८७ वर्षको उमेरमा मंगलबार बिहान विराटनगर महानगरपालिका ९ स्थित निवासमा मंगलबार उनको निधन भएको हो ।
मण्डल नेपाल सद्भावना पार्टी नेपालका पूर्वकार्यवाहक अध्यक्ष हुन् । राजावादी नेता मण्डल दुई पूर्वराजा वीरेन्द्रविरविक्रम शाह र उनका भाइ ज्ञानेन्द्रलाई रिझाएर पटक पटक राजकीय जिम्मेवारीमा पुगेका थिए ।
२०५४ सालमा नेपाल सद्भावना पार्टीमा प्रवेश गरेदेखि मधेस, मधेसी र मधेसवादका लागि अन्तिमसम्म लडेका मण्डल ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भने पार्टी छाडेर मन्त्री बनेका थिए, जसका कारण उनको निकै आलोचनासमेत भएको थियो । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन गएपछि उनी फेरि मधेस फर्किएका थिए ।
पार्टीका अध्यक्ष अनिलकुमार झाले उनको निधनबाट परिवारले अभिभावक गुमाएको महसुस भइरहेको बताएका छन् । उनको देहावसानले मधेसवादी राजनीतिलाई अपूरणीय क्षति भएको पार्टीले ठहर गरेको उनले बताए ।




















प्रतिक्रिया