काठमाडौं । वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो ।
धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक-अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।
आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।





















प्रतिक्रिया