Logo

विविध

आयात बढ्दा सस्तियो चामल



काठमाडौँ । बजारमा अहिले चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ केजी) ५०० रुपैयाँसम्म सस्तिएको व्यापारीहरूले बताएका छन् ।

खुद्रा व्यापार संघका सचिव आमुलकाजी तुलाधरले भर्खरै धान पाक्ने सिजन सकिएको र किसानले धान बिक्री गरिरहेका कारण बजारमा नयाँ चामल प्रशस्त आएकाले मूल्य सस्तो भएको बताए ।

‘बजारमा नयाँ चामल आइसक्यो मूल्य त घटिहाल्छ नि,’ तुलाधरले भने, ‘पुरानो चामलको मूल्य घटेको छैन । नयाँ चामल बोरामा २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म सस्तोमा बिक्री भइरहेको छ ।’

उनका अनुसार अहिले बजारमा नयाँ जिरा मसिनो चामलको भाउ २५ केजी बोराको १६ सयदेखि १८ सयसम्ममा बिक्री भइरहेको छ । मोटा चामलको भाउ पनि घटेको छ । नयाँ सोना मन्सुली चामल २५ केजीको १५ सय ५० रुपैयाँदेखि १६ सय रुपैयाँ छ ।

अघिल्लो वर्ष यसै अवधिमा बजार जिरा मसिनो चामलको मूल्य १९ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म रहेको थियो । यस्तै सोना मन्सुली चामलको मूल्य १६ सय रुपैयाँदेखि १९ सय रुपैयाँसम्म रहेको थियो ।

तुलाधरका अनुसार अहिले बजारमा पुरानो चामल भने अघिल्लो वर्षकै मूल्यअनुसार बिक्री भइरहेको छ । यस्तै खुद्रा व्यापार संघले पनि पुरानो चामल पुरानै मूल्यअनुसार बिक्री गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार ०६:२८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।