Logo

समाचार

सामाजिक सुरक्षा कोषले राष्ट्रिय परिचयपत्रमार्फत योगदानकर्ता विवरण प्रमाणीकरण गर्ने



काठमाडौं । सामाजिक सुरक्षा कोषले अब राष्ट्रिय परिचयपत्रका आधारमा योगदानकर्ताको विवरण प्रमाणीकरण गर्ने भएको छ। यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबीच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी–पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक नमराज घिमिरेले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बर जारी गर्ने, विवरण अद्यावधिक गर्ने तथा सेवा प्रवाह गर्नुअघि लाभग्राहीको पहिचान प्रमाणीकरण गर्दा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत उपलब्ध हुने विद्युतीय सेवाहरू प्रयोग गर्न सक्नेछ।

यसअन्तर्गत राष्ट्रिय परिचय नम्बरका आधारमा नागरिकको नाम, जन्ममिति, ठेगानालगायतका जनसांख्यिक विवरण प्रमाणीकरण गरिनेछ। साथै नागरिकको तथ्यांक उपलब्ध गराउने र जैविक विवरण (बायोमेट्रिक) प्रमाणीकरण गर्ने सेवासमेत प्रयोगमा ल्याइने उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार जैविक विवरणलाई प्रणालीमा रहेको तथ्यांकसँग भिडान गरी नागरिकको पहिचान यकिन गरिने बताइएको छ।

समझदारीमा विदेशमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि आवेदन तथा विवरण संकलन गर्ने प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समेत संलग्न गराई कोषमा सूचीकरण गर्न समन्वय गरिने व्यवस्था गरिएको छ। साथै डेटा सुरक्षा, प्रणाली पहुँच, प्रमाणीकरण प्रक्रिया तथा प्राविधिक सहयोगसम्बन्धी प्रावधानहरू पनि समेटिएका छन्।

समझदारी–पत्र हस्ताक्षर भएको मितिदेखि लागू हुने र आवश्यकताअनुसार आपसी सहमतिमा परिमार्जन गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १३:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।