काठमाडौं — नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षका बीच आजदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु हुँदैछ।
पार्टी विधानको धारा १७ (२) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशन काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन हुन लागेको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आयोजना हुन लागेको यस महाधिवेशनले कांग्रेसभित्र नीतिगत बहसलाई तीव्र बनाउने र आगामी नेतृत्वको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
तर पार्टीको संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई वैधानिकता दिन अस्वीकार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिए पनि उनले सहभागी नहुने निर्णय गरेका छन्।
उद्घाटन कार्यक्रमपछि सुरु हुने बन्दसत्रको सभापतित्व महाधिवेशनमा सहभागी ज्येष्ठ प्रतिनिधिले गर्ने व्यवस्था गरिएको छ। सचिवालय प्रमुख मनोजमणि आचार्यका अनुसार ज्येष्ठ प्रतिनिधि ओमकार श्रेष्ठ वा पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्दसत्रको नेतृत्व गर्नेछन्।
२०१४ सालमा मोरङमा सम्पन्न विशेष महाधिवेशनको परम्परालाई निरन्तरता दिँदै यसपटक पनि स्थानीय सभापतिले उद्घाटनको जिम्मेवारी सम्हाल्ने तयारी गरिएको आयोजक पक्षले जनाएको छ।
देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहने विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ। महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने कार्यक्रमसमेत तय गरिएको सचिवालयले जनाएको छ।




















प्रतिक्रिया