काठमाडौँ । सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौँले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले तेलीलाई घुस लिएको अभियोगमा भ्रष्टाचार ठहर गरेको हो ।
मेयर तेलीले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिका अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले खटाएको टोलीले तेलीलाई उक्त घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।
अदालतमा तेलीले उक्त रकम छोराको व्यापारिक कारोबारको भएको दाबी गरे पनि मोबाइल संवादको स्क्रिप्ट र बरामद नोटको नम्बर भिड्दा उनी दोषी देखिएका हुन् ।




















प्रतिक्रिया