Logo

राजनीति

राप्रपाका वडा अध्यक्ष उम्मेदवार केसीसहित दुई दर्जनभन्दा बढी युवा कांग्रेसमा प्रवेश



काठमाडाैं । ललितपुरको गोदावरी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रभावशाली युवा नेता तथा गत स्थानीय तह निर्वाचनका वडा अध्यक्ष उम्मेदवार सचिन केसीसहित दुई दर्जनभन्दा बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा ५५७ मत प्राप्त गरी झरुवाराशी क्षेत्रमा लोकप्रिय छवि बनाएका केसीसँगै पहिलो स्थानीय निर्वाचनमा २३७ मत ल्याएका स्वतन्त्र उम्मेदवार ईश्वर बिष्ट तथा नेकपा एमाले झरुवाराशीका पूर्व इकाई सचिव युगल केसी पनि कांग्रेसमा समाहित भएका हुन्।

उनीहरूलाई नेपाली कांग्रेसका सह–महामन्त्री उदयशमशेर राणाले पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका नेता राणाले नेपाली कांग्रेस अब बदलिएको पार्टी भएको उल्लेख गर्दै देश परिवर्तन गर्ने दृढ संकल्पका साथ अघि बढिरहेको दाबी गरे।

सोही अवसरमा जीएनजी युवा समूहका दुई दर्जनभन्दा बढी युवाहरूलाई पनि पार्टीमा प्रवेश गराउँदै नेता राणाले सभापति गगन थापाको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा होमिएको र देशकै पहिलो शक्ति बनेर जनताको सुशासनको चाहना पूरा गर्ने विश्वास व्यक्त गरे।

कांग्रेसमा प्रवेश गर्ने अधिकांश युवाहरूले नेपालमा युवाहरूको आन्दोलनपछि कांग्रेसभित्र भएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताबाट आफूहरू प्रभावित भएको बताएका छन्। निर्वाचनको मुखमा झरुवाराशी र गोदावरी क्षेत्रका स्थापित युवा शक्ति कांग्रेसमा ध्रुवीकृत भएसँगै यस क्षेत्रमा कांग्रेसको चुनावी पल्ला भारी भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १०:५५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।