Logo

समाचार

प्यान लिने करदाताको संख्या ८१ लाख नाघ्यो, तीन महिनामै २ लाख ८४ हजार थपिए



काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख नाघेको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म विभिन्न प्रकारका प्यान लिने करदाताको कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो।

गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्यान लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो। असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० नयाँ प्यान थपिएका छन्।

विभागका अनुसार असोज मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिनेको संख्या २२ लाख २७ हजार ८३७ पुगेको छ। असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो। तीन महिनाको अवधिमा ५२ हजार ९२५ व्यावसायिक प्यान थपिएका हुन्।

त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पी–प्यान) लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ। असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए। असोज महिनामा मात्रै २ लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएको विभागको तथ्यांकले देखाएको छ।

भुक्तानीमा कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूपीएएन) को संख्या पनि बढेर ३९ हजार ५६२ पुगेको छ। असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो। यस अवधिमा ३९८ वटा डब्लूपीएएन थपिएका छन्।

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ। गत असार मसान्तसम्म भ्याटमा दर्ता भएका करदाताको संख्या ३ लाख ७८ हजार २६८ थियो। असोज महिनामा मात्रै ११ हजार ७७९ करदाता भ्याटमा थपिएका छन्।

अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ। असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको अन्तःशुल्क दर्ता संख्या असोज मसान्तसम्म आइपुग्दा १ लाख ३८ हजार ९२६ पुगेको छ। तीन महिनाको अवधिमा ६ हजार २५४ करदाता थपिएका हुन्।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।