नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता तथा कार्यकर्तासँग प्रत्यक्ष संवादका लागि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने झापाको गौरीगञ्ज गाउँपालिका पुगेका छन् ।
निर्वाचन परिचालन समिति गौरीगञ्जका संयोजक सर्वतलाल राजवंशीकाअनुसार अध्यक्ष ओलीले गौरीगञ्ज क्याम्पसमा सर्वसाधारण तथा पार्टी कार्यकर्तासँग संवाद गरेका हुन् । आज दिनभर सञ्चालन हुने कार्यक्रम अन्तर्गत ओलीले सबैभन्दा बढी समय गौरीगञ्जमै बिताउने बताइएको छ ।
निर्वाचन परिचालन समिति गौरीगञ्जका सचिव कृष्ण महतोकाअनुसार अध्यक्ष ओली करिब दिउँसो १ बजेसम्म क्याम्पसमा रहने कार्यतालिका छ । त्यसपछि उहाँ विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा भलाकुसारी गर्नेछन् ।
कार्यक्रमअनुसार ओली खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायतका बस्तीमा पुग्नेछन् । यस क्रममा उनले हुलाकी राजमार्ग तथा नयाँ सहरको रूपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुँदै मतदाता भेटघाट तथा चुनावी गतिविधिमा सक्रिय भएको छन् ।





















प्रतिक्रिया