काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले नेपालको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले छठलाई प्रकृति, पवित्रता, अनुशासन, सामूहिकता र अटल आस्थाको अनुपम महापर्वका रूपमा रहेको बताए ।
उनले छठ पर्वले मानव, प्रकृति र सृष्टिबीचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने बताए । सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अघ्र्य अर्पण गरिने यस पर्वले प्रकृतिप्रतिको कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने उनले बताए ।
उनले हिमाल, पहाड र मधेशका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्ने यस्ता पर्वले राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ बनाउने बताए ।
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने परम्पराले जीवनका हरेक अवस्था, संघर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उनले बताए ।
उपराष्ट्रपति यादवले छठका धार्मिक अनुष्ठानले आत्मअनुशासन, धैर्य, श्रद्धा र आध्यात्मिक शुद्धताको अभ्यास गराउने उल्लेख गरे । कठिन साधना र संयमका साथ व्रत सम्पन्न गर्ने परम्पराले इच्छाशक्ति, परिवारप्रतिको समर्पण तथा सामूहिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्ने उनले बताए ।
त्यस्तै, छठमा प्रसादका रूपमा प्रयोग गरिने ठेकुवा, भुसुवा, पिरुकिया र खजुरियालगायतका परिकारले रैथाने संस्कृतिको संरक्षणमा योगदान पु¥याउने उनले बताए ।
उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।





















प्रतिक्रिया