काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ ।
पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएको यस क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन् । यो संख्या हालसम्मकै उच्च हो । सबैभन्दा कम पर्यटक सन् २०२१ मा मात्र १६ हजार १०५ जना पुगेका थिए, जुन कोभिड–१९ महामारीको प्रत्यक्ष प्रभाव थियो ।
एक्यापका अनुसार सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम पर्यटक आगमन हुँदै आएकोमा सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटक संख्या एक लाख नाघेको थियो । त्यसपछि सन् २०१५ को गोरखा भूकम्पले पर्यटक आगमनमा असर पारे पनि पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्र फेरि विश्वका पदयात्रीको रोजाइमा फर्किएको देखिन्छ ।
सन् २०२२ पछि पर्यटक आगमनमा निरन्तर वृद्धि भएको छ । सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा झण्डै तीन लाख विदेशी पर्यटक अन्नपूर्ण पुगेका छन् ।
एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ जना रहेका छन् । उनका अनुसार पर्यटक आगमन बर्सेनि बढ्दो छ । पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म अन्नपूर्ण क्षेत्र आकर्षणको केन्द्र बनेको उनले बताए ।
अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानीलगायतका गन्तव्यमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र जीवनशैलीका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ ।
अन्नपूर्ण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । छोटोदेखि लामो दूरीसम्मका पदमार्ग, पर्यटनमैत्री पूर्वाधार र स्थानीयवासीको आतिथ्यताले अन्नपूर्ण चक्रीय पदमार्गलाई अझ आकर्षक बनाएको पर्यटन व्यवसायीहरू बताउँछन् ।




















प्रतिक्रिया