Logo

प्रमुख समाचार

सर्लाहीमा रविसँगै देखिएकी कार्की ३३ किलो सुन काण्डमा जोडिएकी पात्र



काठमाडौं । सुशासनको नारा लगाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका व्यक्तिलाई उम्मेदवार बनाएको पाइएको छ ।

विवादित पारिवारिक पृष्ठभूमिकी नीतिमा भण्डारी कार्कीलाई सर्लाही क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएर भोट माग्दै हिँडेपछि पार्टी सभापति रवि लामिछानेले थप विवादमा जोडिएका छन् ।

उम्मेदवार कार्की ‘बाजेको सेकुवा’ रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीकी श्रीमती हुन्। चेतनको नाम २०७५ सालमा सार्वजनिक भएको चर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको थियो। उक्त प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी गरेको अभियोगमा भण्डारीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएको तथ्य सार्वजनिक भएको थियो। सुन गायब भएपछि भरिया शाक्यलाई यातना दिँदा हत्या भएको घटनाले देशव्यापी आक्रोश जन्माएको थियो। त्यसपछि सरकारले १५ वैशाख २०७५ मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो।

उपलब्ध विवरणअनुसार चेतन भण्डारीविरुद्ध मुद्दा दायर भएपछि उनी फरार रहेको भन्दै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिससमेत जारी गरिएको थियो। करिब दुई वर्षपछि उनी स्वयं अदालतमा उपस्थित भएका थिए। अदालतमा हाजिर भएपछि उनले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा पाएका थिए। अन्तिम फैसलाअनुसार उनी उक्त मुद्दामा सफाइ पाएको बताइए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीहरू भने विभिन्न निकायमा छानबिनकै क्रममा रहेको जनाइएको छ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलका अनुसार फरार प्रतिवादीको म्याद तामेली गर्न २० महिनाभन्दा बढी समय लागेको थियो। १८ जना फरार अभियुक्तको ठेगाना नखुलेपछि गोरखापत्रमा ३५ दिने सूचना प्रकाशित गरिएको थियो। अदालतले बाटोको म्यादसहित ६५ दिनभित्र उपस्थित नभए मुद्दाको प्रक्रिया अघि बढाउने जनाएको थियो। केही प्रतिवादीहरू अदालतमा हाजिर भई धरौटीमा छुटिसकेका छन्।

प्रहरी अनुसन्धानका क्रममा चेतन भण्डारी र ‘गोरे’ व्यावसायिक साझेदार रहेको खुलासा भएको थियो। सुन काण्ड सार्वजनिक भएपछि भण्डारी अमेरिका गएको र पछि नेपाल फर्केर अदालतमा हाजिर भएको विवरण सार्वजनिक अभिलेखमा उल्लेख छ।

चर्चित विवादित पृष्ठभूमिका भण्डारीकी श्रीमती नितिमालाई उम्मेदवार बनाएपछि रास्वपामा सुशासन भन्दा कमाउँ धन्दामै केन्द्रित भएको देखिएको छ।

विवादित प्रकरणसँग जोडिएको परिवार पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाउँदा रास्वपाको सुशासनसम्बन्धी दाबी देखावटी मात्र भएको पुष्टि हुँदै गएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ११:२६   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।