कञ्चनपुर। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दे कञ्चनपुरका सीमा नाकाहरूबाट तीन दिन आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दे फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि जिल्ला स्थित सबै सीमा नाकाहरू बन्द रहने जनाएको हो ।
२१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागी कञ्चनपुर स्थित सबै नाकाहरूबाट तीन दिन आवागमनमा पूर्ण तया रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताउनुभयो । उहाँकाअनुसार, आगामी साताको सोमबार मध्य रातिदेखि बिहीबार मध्य राति सम्म सीमा नाकाहरू बन्द रहने छन् ।
यसका साथै, प्रशासनले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म अत्यावश्यक र अनुमति प्राप्तबाहेक सबै सवारीसाधन सञ्चालनमा निषेध गरिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार, एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युतीय सेवा जस्ता अत्यावश्यक सेवा, नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारीसाधन बाहेकका अन्य सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।




















प्रतिक्रिया